माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले एनसेल खरिद-बिक्री प्रकरणमा ठूलो आर्थिक चलखेल भएको बताएका छन्।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा पुनले एनसेल प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी हुनेगरी ठूलो आर्थिक चलखेल भएको बताएका हुन्।
सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको हुँदा सबै विषय अहिले बाहिर ल्याउने नमिल्ने बताए।
‘एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप-२८ को सिलसिलामा देशबाहिर हुनुहुन्थ्यो,' उनले भने, 'आउनेबित्तिकै सत्तारूढ गठबन्धनका शीर्ष नेतालाई बैठक बोलाएर छानबिन गर्नेमा सहमत गराउनुभयो। भोलिपल्टै मन्त्रिपरिषदले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढायो।’
यस्ता राज्यविरूद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउनले उनले बताए।
पुनले एनसेल प्रकरणमा कर छली गरी राज्यलाई ठगी तथा देशविरूद्धको काम गरेको प्रष्ट हुने गरी तथ्य बाहिरिएको समेत बताएका छन्।
यस्तै, वर्तमान सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरेको उनले बताए।
'बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजीविरूद्धको अभियान त्यसको ज्वलन्त उदाहरण हो,' उनले भने, 'यस्ता प्रकरणमा जस्तै एनसेल प्रकरणमा पनि सरकारले दृढतापूर्वक काम गरी दोषीलाई कारबाही गर्छ।'
त्यस्तै, पुनले सरकार केही ठूला भ्रष्टाचार प्रकरणका फाइल खोल्ने तयारीमा रहेको बताए।