संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनील नेपालको नाम अनुमोदन गरेको छ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित राजदूत नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
योग्यता, क्षमता र अनुभवसहितको कार्ययोजनामाथि छलफल गरी प्रस्तावित राजदूत नेपालको नाम बैठकले अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति (ज्येष्ठ सदस्य सभापति) पशुपति समशेर जबराले जानकारी दिए।
गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाललाई पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।
सभापति राणाले भने, ‘श्री सनिल नेपाललाई समिति समक्ष उपस्थित भई संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १९ अनुसार आफ्नो योग्यता, अनुभव, अभिरुचि तथा उक्त पदको जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा आफ्नो अवधारणा र कार्ययोजनालगायतका विषयमा प्रस्तुत गर्नु भएकोमा समितिको तर्फबाट धन्यवाद दिँदै यस समितिबाट बिदा गर्न चाहन्छु।’
यसअघि बैठकमा प्रस्तावित राजदूत नेपालले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राजदूतावासको स्थापना र सेवा प्रवाहको कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए।
उनले पोर्चुगलमा रहेका नेपालीहरूको समस्यालाई तत्काल सम्बोधन गर्ने र सहजीकरण गर्ने काममा पनि आफू केन्द्रित हुने बताए।
सरकारले पहिलो पटक पोर्चुगलमा आवासीय राजदूतावास खोल्ने निर्णय गरेको हो।