काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सिटी अफ् फिल्म सिड्नीसँग गुणस्तरीय चलचित्रबारे छलफल गरेकी छिन्। गुणस्तरीय चलचित्र प्रवर्द्धन गर्न र त्यसका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीबारे उनले छलफल गरेकी हुन्।
युनेस्को क्रिएटिभ सिटी अफ् फिल्म सिड्नीका निर्देशक क्यास हेपवोर्थसँग अष्ट्रेलियामा भएको भेटमा उक्त छलफल भएको उपमेयर डंगोलले बताइन्।
'काठमाडौं महानगरलाई युनेस्को क्रिएटिभ सिटीले पुरस्कार प्रदान गरेको छ,' उनले भनिन्, 'त्यसैले सिटी अफ फिल्म सिड्नीसँग गुणस्तरीय चलचित्र प्रवर्द्धन गर्ने विषयमा छलफल भयो,’ उनले भनिन्, ‘भेटमा महानगरपालिका चलचित्र विकासलाई आर्थिक सहयोग गर्न, मार्गनिर्देशन प्रदान गर्न र चलचित्र मेला आयोजना गर्न थप सिकाइ समेत भयो।'
अष्ट्रेलिया भ्रमणले कला, संस्कृति र नवीन उद्योगसम्बन्धी नीति तयार गरी 'स्क्रिन पर्यटन'को सम्भावनालाई समेत साकार बनाउन मद्दत हुने उनले बताइन्।
यस्तै, अष्ट्रेलियाली राष्ट्रिय पुँजी प्राधिकरणका कार्यकारी निर्देशक स्याली बार्नेससँगको भेटमा उपमेयर डंगोलले सहरी योजनाको प्राथमिकताकोबारे छलफल गरेकी थिइन्।
'सहरी योजना प्रभावकारी ढंगले पहिचान गर्ने पद्धति, निलो-हरियो सञ्जाल, आर्थिक पहुँचको विकास, अवसरको विस्तार, सहरी विकासका लागि रणनीतिक मार्गबारे छलफल भयो,' उनले भनिन्, 'समावेशी र दिगो समुदायको विकासबारे सम्भावित कार्यक्रम, योजना तर्जुमा लगायतका विषयमा कुराकानी भयो।’
उपमेयर डंगोलका अनुसार नेपाली संगठन र समुदायसँग भेट गरी नेपाली कला, सभ्यता, संस्कृति, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनबारे गहन छलफल समेत भयो।
'नेपाली युवाहरूको वैदेशिक शिक्षा र बसाइँसराइको प्रमुख गन्तव्य बनेको अष्ट्रेलियामा नेपालीको जनसंख्या बढ्दै गएको देखिन्छ,' उनले भनिन्, 'यिनै अवस्थामा काठमाडौं महानगरलाई शिक्षा, संस्कृति, अन्तर्राष्ट्रिय मामिला र दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन सहयोग गर्नेछ।'