नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरू कुशासनका कारण आक्रान्त भएको बताएका छन्।
आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले आजको दिनमा कुशासनबाट नागरिकहरू वाक्कदिक्क भएको बताए।
उनले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको बताए।
उनले कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन भइरहेको छन्? भन्दै प्रश्न गरे।
उनले भने, ‘आजको दिनमा कुशासन, एउटा नागरिकलाई र्यान्डम्ली गएर कसैले भेट्यो भने नागरिक सबैभन्दा बढी आजित केही कुराले भएको छ भने कुशासनले भएका छन्। एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ। केही समयअघिसम्म एउटा काण्ड जताततै थियो। सुन काण्ड थियो, नक्कली भुटानी शरणार्थी प्रकरण थियो। अब एनसेल काण्ड आयो। अब यो केही दिन यही चल्छ। यो सेलाउन पाएको छैन, अर्को आउँछ।’
उनले अगाडि भने, ‘यो काण्ड कुशासनसँग जोडिएको छ। कुशासन कि नियतसँग जोडिएको छ कि अयोग्यतासँग जोडिएको छ। शासन हामीले गरिरहेका छौं। सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो। त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन्। यति धेरै काण्डहरू किन भइरहेका छन्? जरामा के छ? समस्या कहाँनेर छ? के कारणले गर्दा आएको छ? मलाई लाग्छ नेपाल पुकारले त्यसको जरामा पुग्नुपर्छ।’
महामन्त्री थापाले कांग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताए। (न्युज एजेन्सी नेपाल)