जनता समाजवादी पार्टी (जसपा) नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्न सोमबार बैठक बोलाएको छ। बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने जसपाले बताएको छ।
भदौदेखि सञ्चालित अभियानमा जसपाले पालिका समितिदेखि प्रदेश समिति पुनर्गठन गरेको बताएको छ। जसअन्तर्गत मधेस प्रदेशबाहेकका सबै प्रदेश समिति पुनर्गठन भएको उसले बताएको हो।
पहिचानका राष्ट्रिय समितिहरूमध्ये लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, मधेस राष्ट्रिय समिति, नेवाः राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन भएको जसपाले बताएको छ।
बाँकी रहेका केही पहिचानका राष्ट्रिय समिति र विशेष प्रदेश समितिले पुनर्गठनको मिति तय गरेको पनि उसले जानकारी दिएको छ।
जसपाको मधेस प्रदेशअन्तर्गतका जिल्ला बाहेक २६ जिल्ला समिति पुनर्गठन गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
यस अवधिमा जसपाका करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका छन्। जसमध्ये ८० वटा पालिका समिति मधेस प्रदेशअन्तर्गतका रहेका छन्। मधेस प्रदेश समितिले पालिका समितिपश्चात जिल्ला समिति र जिल्ला समिति पुनर्गठन गरेपश्चात् प्रदेश समिति पुनर्गठन गर्ने गरी कार्य गरिरहेको बस्नेतले बताए।
तीनमहिने अभियानको क्रममा जसपाले सबैजसो प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको उनले बताए।
त्यस अभियानबारे थप निर्णय लिन तथा माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनबारे पनि सोमबारको बैठकमा छलफल हुने छ। त्यस्तै केन्द्रीय समितिको बैठक लगायतका एजेण्डामा आजको बैठक केन्द्रित हुने बस्नेतले बताए।