परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग भेटवार्ता गरेका छन्।
सोमबार दोहामा भएको भेटमा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेको मन्त्रीका स्वकीय सचिव दीपक जोशीले बताए।
प्रधानमन्त्री अल थानीले नेपाली विद्यार्थी जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताए।
उनले छिटै सकारात्मक परिणाम आउन सक्ने संकेत गरेका थिए।
नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।
परराष्ट्रमन्त्री साउदले व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमणलगायत विषयमा पनि भेटवार्तामा कुराकानी गरेका थिए।
परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, विदेशमन्त्री, निजी क्षेत्र, थिंक ट्यांक, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा सहभागी छन्।