कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बावजुद नेकपा एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर अघि बढेको छ।
मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई प्रवेश निषेध गर्ने भन्दै आन्दोलनकारीले अवरोध सिर्जना गर्न खोजिरहेका छन्।
ओखलढुंगाको हर्कपुरमा आमसभा गर्ने र अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रमलाई लक्ष्य गरी प्रदेश १ पुनः नामंकन संयुक्त संघर्ष समितिले बन्द आह्वान गरेको छ।
एमाले अध्यक्ष ओलीसहितको टोली केहीबेर अघि सिन्धुलीको खुर्कोटबाट उदयपुरतिर अघि बढिरहेको छ।
‘अध्यक्षज्यूसहितको टोली खुर्कोटबाट अघि बढेको छ’, अहिले घुर्मीमा रहेका एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले भने, ‘१२ बजेदेखि हर्कपुरको आमसभा सुरू हुनेछ। त्यो सकेर हामी खोटाङतिर अघि बढ्नेछौं।’
पार्टी अध्यक्ष केपी ओलीसहितका नेताहरूलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट एमालेका नेता कार्यकर्ता घुर्मीमा भेला भएका छन्।
एमालेको यात्राका लागि मध्यपहाडी लोकमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालित छन्। नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिएको नेपाल प्रहरीको भनाइ छ।
‘नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेका छौं’, कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी ऋषिराज कँडेलले भने, ‘थप सुरक्षाकर्मी मधेस र बागमती प्रदेशबाट पनि मगाइएको छ।’
उनका अनुसार एसएसपी जयप्रसाद साप्कोटाको नेतृत्वमा नेपाल प्रहरीको टोली मध्यपहाडी राजमार्गमा परिचालन गरिएको छ। मंसिर १४ गतेबाट सुरू भएको अभियान मंगलबारबाट कोशी प्रदेशमा प्रवेश गर्दैछ। पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर एमालेको यात्रा समापन हुनेछ।
तस्बिरहरू:



