नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठकका लागि जनताबाट सुझाव लिने भएका छन्।
महासमिति बैठकलाई कांग्रेसले नीति अधिवेशनका रूपमा अघि बढाउने भएकोले जनताका सुझाव लिएर त्यसअनुसार बैठकमा छलफल गर्न लागेको उनी बताउँछन्।
'गुगल फर्मबाट मैले जनताका सुझाव लिन लागेको हुँ,’ उनले सेतोपाटीसँग भने। जनभावनाअनुसार पार्टीलाई अघि बढाउन जनताकै सुझाव लिन लागेको पनि उनको भनाइ छ।
उनले क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग आगामी नीति कस्तो बनाउने भन्नेबारे सुझाव मागेका छन्। महरले ८ लाख ६६ हजार क्रियाशील सदस्य, शुभेच्छुकलगायत आमजनतासँग पनि आगामी नीति कस्तो बनाउने भन्नेबारे सुझाव लिन लागेका हुन्।
उनले विद्यमान राजनीतिक व्यवस्थाप्रति भइरहेका टीकाटिप्पणीलाई जनताले कसरी लिएका छन् भन्ने पनि बुझ्न चाहेको बताए। उनले कांग्रेसलाई जनताका समस्या सुन्ने र समाधान गर्न सक्रिय बनाउने पार्टीका रूपमा विकास गरिनुपर्ने पनि बताए।
कांग्रेसले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्ने बताएको छ।