प्रदेशको नाम कोशी राखिएको विरोधमा आन्दोलनरत समूहले झापामा मंगलबार कोशीका मुख्यमन्त्री केदार कार्की चढेको गाडीमा पनि आक्रमण गरेको छ।
झापामा आयोजना गरिएको एउटा कार्यक्रममा सहभागी हुन जाँदै गरेका मुख्यमन्त्रीलाई आन्दोलनकारीले दमकमा अवरोध र आक्रमण प्रयास गरेका थिए।
पहिले बाटैमा गाडी छेकेर कालो झन्डा देखाएका प्रदर्शनकारीले दमक-५ को सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार गरेका थिए। ढुंगाले लागेर मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको प्रहरीले जनाएको छ।
प्रदेश नम्बर–१ पुनः नामकरण संयुक्त संघर्ष समितिले कोशी नामका पक्षमा मतदान गर्ने प्रदेश सभाका ८२ जना सांसद अनि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका योगेश भट्टराई र महेश बस्नेतलाई प्रदेशभर अवरोध गर्ने बताउँदै आएका छन्।
सोही योजना अनुसार एमालेको संकल्प यात्रा रोक्न आज मध्यपहाडी लोकमार्ग क्षेत्रमा बन्द आह्वान गरिएको छ। त्यसका बाबजुद अहिले एमालेले ओखलढुंगाको हर्कपुरमा आमसभा गरिरहेको छ।