कोशी नाम खारेजीको माग गर्दै पूर्वमा आन्दोलनरत समूहप्रति सधैं आक्रामक अभिव्यक्ति दिँदै आएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले हर्कपुर आइपुग्दा भने नरम भाषा प्रयोग गरेका छन्। बैतडीको झुलाघाटबाट सुरू भएको एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा मंगलबार दिउँसो कोशी प्रदेश प्रवेश गरेको छ।
ओखलढुंगाको हर्कपुरमा आयोजित कोशी प्रदेशको पहिलो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओली नरम शैलीमा प्रस्तुत भए। यसअघि पश्चिमका कार्यक्रममा आन्दोलनकारीप्रति कडा भाषामा प्रस्तुत भएका उनले कोशी आइपुगेर भने ‘टोन चेन्ज’ गरेका हुन्।
‘कोही पनि दाजुभाइ दिदीबहिनीहरू अनावश्यक भावनामा बग्नु हुँदैन’, ओलीले भने, ‘राजनीतिक मतभेद हुनसक्छ। तर, त्यसलाई वैधानिक, शान्तिपूर्ण रुपमा औचत्य पुष्टि गर्नुपर्छ।’
कोशी नाम खारेजीको माग गर्दै आफूलाई पहिचानवादी दाबी गर्ने समूहहरूले ओलीसहितका नेताहरूलाई प्रदेश प्रवेशमै रोक लगाउने बताउँदै आएका छन्। मंगलबार मध्यपहाडी लोकमार्ग क्षेत्रमा बन्दसमेत आह्वान गरेका छन्।
तिनै आन्दोलनकारीतिर लक्षित गर्दै ओलीले ‘अनावश्यक भावनामा बग्न नहुने’ बताएका हुन्। अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा खडा भएको आरोप लगाउँदै ओलीले एमालेले मात्रै राष्ट्रिय एकता कायम गर्ने दाबी गरे।
‘हाम्रो (एमाले) को कठिनाइपूर्ण यो अभियान कसैका विरुद्ध होइन’, ओलीले भने, ‘सबै खुसी हुनुपर्ने हो। सबै खुसी हुनुपर्छ। चित्त दुखाउनुपर्ने कारण छैन।’
प्रदेशका आन्दोलनकारीहरू एमाले अध्यक्ष ओली, सचवि योगेश भट्टराई र महेश बस्नेतले आफूहरुको निरन्तर अपमान गरेको, पहिचानको आन्दोलनविरुद्ध विषवमन गरेको आरोप लगाइरहेका छन्। सोही कारण कोशी नामका पक्षमा मतदान गर्ने प्रदेशसभाका ८२ सांसद र यी तीन एमाले नेतालाई प्रदेशमा निषेध गर्ने उनीहरुले बताउँदै आएका छन्।
‘उहाँहरुले यति लामो समयदेखि उठेको मागलाई कुल्चँदा अन्याय नहुने, उहाँहरूलाई प्रवेश निषेध भन्दा उहाँहरुमाथि अन्याय हुने कुरा नै ठीक छैन’, आन्दोलनकारी नेता डेकेन्द्रसिंह थेगिमले भने ‘त्यसैले हाम्रो जोर चलेसम्म रोक्न लाग्छौं।’
आन्दोलनकारीले ओलीसहितको एमाले अभियानलाई रोक्ने उद्देश्यसहित बन्द आह्वान गरे पनि एमाले टोली उदयपुरको घुर्मी हुँदै ओखलढुंगाको हर्कपुरमा सभा आयोजना गर्न सफल भयो। बाक्लो प्रहरी उपस्थितिमा सभा चलिरहँदा ओलीले विगतमा जस्तो आन्दोलनकारी चिढ्याउने अभिव्यक्ति दिएनन्।
ओलीसहितको एमाले टोली आजै खोटाङको दिक्तेल पुग्ने कार्यक्रम छ। ओलीको यात्रा बिथोल्न प्रयास गरेको अभियोगमा प्रहरीले पूर्वमन्त्री गोपाल किरातीसहित एक दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको छ। आन्दोलनकारीले बाटेमा रूख ढालेर अवरोध प्रयास गरे पनि प्रहरीले अवरोध हटाइरहेको छ।