राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र हस्तकला भएकाले सरकारबाट यसको प्रबर्द्धनका लागि उद्योग व्यवसायमैत्री कानुन बनाउन आवश्यक रहेको बताएका छन्।
२० औं हस्तकला व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै उनले हस्तकला उद्योगबाट उत्पादित वस्तुको बजार विस्तार गर्न सरकारका सबै निकायले उपयोग गर्ने वातावरण सिर्जना हुनुपर्ने बताए।
‘हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवं सम्बर्द्धन गर्दै विश्वमा परिचित गराउने महत्वपूर्ण क्षेत्र हो। यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न सकिन्छ। यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ भन्ने मलाई लागेको छ,’ उनले भने।
राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका धेरैजसो सामग्री विभिन्न जातजातिको पुर्ख्यौली पेशा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने बताए।
‘प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक छ,’ उनले भने।
प्रत्यक्ष–अप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्तिलाई रोजगारी दिएको यो क्षेत्र अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको हुँदा यसको उत्पादनले मुलुकको पहिचान विश्वरभर फैलाउन योगदान पुर्याउने पनि राष्ट्रपति पौडेलको भनाइ छ।
‘हाल करिब ८५ देशमा हस्तकला उद्योग व्यवसायबाट उत्पादित वस्तुहरूको निकासी भएको छ भने कतिपय देशहरूमा निकासी गर्न बाँकी छ। थोरै पूँजी, स–सानो प्रविधि तथा स्थानीय कच्चा पर्दाथ, श्रम र सीपमा आधारित हस्तकला उद्योग व्यवसाय कृषि पछि देशमा गाँउ, बस्ती, दुर्गम क्षेत्रमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र हो। सहजै स्थानीयस्रतमा गर्न सक्ने व्यवसाय पनि यो हो। यति महत्वपूर्ण व्यवसाय भएर पनि युवा पुस्तामा हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरण हुन सकिरहेको छैन,’ उनले भने।
तस्बिरहरू:



