नेपाली कांग्रेसले भूकम्पपीडितलाई टहरा बनाउने कार्यलाई जारी राखेको बताएको छ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीसहित टोलीले रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ५० वटा टहरा निर्माण गरिसकेका छन्।
शिवाकोटीले थप टहरा निर्माण कार्यलाई निरन्तरता दिइएको बताए।

‘म १० दिन श्रमदान गरी काठमाडौं फर्केको हुँ, टहरा निर्माण कार्यलाई निरन्तरता दिइएको छ,’ उनले भने, ‘पहिलो चरणमा १५ टहरा र दोस्रो चरणमा ३५ टहरा हस्तान्तरण गरिसकिएको छ। विभिन्न समुदायका, एकल महिला, वृद्धवृद्धा, अभिभावक गुमाएका, अपाङ्गता भएका र परिवारका सदस्य विदेशमा भएकाहरूको परिवारलाई प्राथमिकतामा राखेर टहरा बनाइएको छ।’
टहरा बनाउँदा पीडितलाई कुनै पनि आर्थिक भार पर्न नदिएको उनले बताए । सो क्रममा भत्केका घर वा गोठका काठ प्रयोग गरेको उनले बताए। टहरा बनाउन नेपाली जनसम्पर्क समिति जापान अन्तरिम केन्द्रीय समिति र विदेशमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेको पनि उनले बताए।
कांग्रेसले भूकम्पप्रभावित जाजरकोट र रूकुम पश्चिममा टहरा बनाउन इन्जिनियर, डकर्मीसहित विभिन्न टोली परिचालन गरेको छ।