सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायमा हुने नियुक्ति र राजदूत नियुक्तिबारे सुनुवाइ गर्न गठित संसदीय सुनुवाइ समितिप्रति सांसदहरूले बेवास्ता गर्न थालेका छन्।
समितिले शुक्रबार सर्वोच्चमा प्रस्तावित न्यायाधीशद्वय सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई सुनुवाइका लागि डाकेको थियो। तर सुनुवाइमा सांसदहरूको भने खासै चासो देखिएन।
नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहेका सांसद रमेश लेखक बैठकको सुरूआत र बीचमा केहीबेर सहभागी भए पनि अधिकांश समय बाहिरै रहे। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी सुरूआतमा बैठकमा सहभागी भए पनि त्यसपछि सुनुवाइमा फर्किएनन्।
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा पनि सारंगा सुवेदीलाई प्रश्न सोधेपछि उठेर हिँडे। जवाफ सुन्नसम्म पनि कुरेनन्। जेष्ठ सदस्य पशुपति शमशेर जबरा बैठक सुरू गरेको केहीबेरपछि बैठकबाट बाहिरिए। फर्किएनन्।
सुनुवाइ समितिले अहिलेसम्म सभापति चयन गरेको छैन। समितिको बैठक जेष्ठ सदस्यले अध्यक्षता गर्ने गरेका छन्। शुक्रबारको बैठकमा मात्र चार पटक अध्यक्ष फेरिए।
सुरूआतमा पशुपति शमशेर जबराले बैठकको अध्यक्षता गरे। सारंगा सुवेदीले अवधारणा प्रस्तुत गरेपछि सांसद प्रकाश अधिकारीले प्रश्न राख्न थाले। अधिकारीले प्रश्न राख्दै गर्दा राणा निस्किए। झण्डै १० मिनेटसम्म राणा नफर्किएपछि सांसदहरूबीच खोजी भयो।
प्रतिनिधि सभाका सचिव समेत रहेका सुनुवाइ समितिका सचिव पद्मप्रसाद पाण्डेयले राणाका स्वकीयलाई फोन लगाए। राणा शौचालय गएको थाहा भयो। अधिकारीको बोल्ने क्रम सकिँदासम्म अध्यक्षको कुर्सीमा कोही सांसद बसेनन्।
राणापछिका जेष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्की बैठक कक्षमै थिए। तर राणा फर्किने भएकाले उनी अध्यक्षको कुर्सीमा बसेनन्।
तर प्रकाश अधिकारी बोलिसकेपछि आफू बसेकै ठाउँबाट कार्कीले देवेन्द्र दाहाललाई समय दिए। दाहाल बोल्नै लाग्दा एमाले सांसद महेश बर्तौलाले रोके। अध्यक्ष बेगर बैठक नहुने भन्दै उनले प्रश्न उठाएपछि कार्की अध्यक्षको कुर्सीमा बसे। केहीबेरमा राणा फर्किए र केहीबेर बैठकको अध्यक्षता गरे।
केहीबरेमा राणा र कार्की बैठक कक्षबाट बाहिरिएपछि बैठकको अध्यक्षता गर्ने पालो एमाले सांसद देवेन्द्र दाहालले पाए। झण्डै डेढ घण्टापछि कार्की समितिमा फर्किए। त्यसपछि दाहालले फेरि कार्कीलाई अध्यक्षताको जिम्मेवारी दिए।
तर बैठक सकिनु अघि फेरि कार्की बाहिरिएपछि बैठकको अध्यक्षता कांग्रेसकै अर्की सांसद ईश्वरी न्यौपानेले गरिन्।
संसदीय व्यवस्थामा सांसदहरूको प्रमुख कार्यमध्ये एउटा सुनुवाइ पनि हो। तर सांसदहरूले भने जनप्रतिनिधिको हैसियतमा समितिलाई दिनुपर्ने प्राथमिकता दिने गरेका छैनन्।
शुक्रबारको बैठकमा अब्दुल अजिज मुसलमानको सुनुवाइका क्रममा समिति झण्डै खाली हुने अवस्थामा पुग्यो। केहीबेरका लागि बैठक कक्षमा आएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रस्तावित न्यायाधीशलाई आफ्ना कुरा छोटो राख्न आग्रह नै गरे।
समितिको बैठकको अन्त्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सांसदहरूको अनुपस्थितिप्रति आपत्ति जनाए। उनले त्यसमा समितिले ध्यान पुर्याउनुपर्ने टिप्पणी गरे।
१५ सदस्यीय संसदीय सुनुवाइ समितिमा प्रतिनिधि सभाका १२ र राष्ट्रिय सभाका ३ सांसद छन्।