नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई काम नगरे सिंहदरबारबाट खुमलटार पुर्याइदिन्छौं भन्न कांग्रेसले सक्नुपर्ने बताएका छन्।
पाल्पामा शनिबार कांग्रेस जिल्ला सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले पूर्ववत् सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डको कार्यकाल दुई वर्ष रहेको र त्योमध्ये एक वर्ष बितिसकेको स्मरण गराउँदै एक वर्षको अवधिमा वाचा अनुसारको काम नभएको बताएका हुन्।
त्यसकारण कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सिंहदरबारबाट खुमलटार पुर्याउँछौं भन्न सक्नुपर्ने थापाले बताए।
`यो एक वर्षभित्र धेरै काम हुन सकेन। तपाईंसँग मौका छ, अब यो एक वर्षभित्र हिजो गरेका बाचाअनुसार काम गर्नुहोस्। यत्तिको अनुकूलता र स्थिरता हुँदा गर्नुपर्ने काम तपाईं गर्नुहुन्छ भने प्रधानमन्त्रीका रूपमा तपाईंलाई राखिराख्छौं, मद्दत गर्छौं,’ उनले भने, ‘तर तपाईंले काम गर्न सक्नुहुन्न भने सिंहदरबारबाट खुमलटार पुर्याउछु भनेर काङ्ग्रेसले भन्न सक्नुपर्छ।’
उनले अहिलेको सरकारमा रहेका कांग्रेसका ९ मन्त्रीले पनि जिम्मेवारीअनुसार काम गर्नुपर्ने बताए।