निर्वाचन आयोगले आज राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ।
माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई चुनाव चिह्न दिन लागेको हो।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगमा १२ वटा दल दर्ता भएको छ। उनीहरूलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो।
आगामी चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना गर्ने तयारी भइरहेको उनले बताए।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदै छ। राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुन्छ।
राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार प्रक्रिया अगाडि बढाइएको उनले सेतोपाटीलाई जानकारी दिए।