राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएको बताएका छन्।
आइतबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै अध्यक्ष लिङ्देनले नेपालमा राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दुराष्ट्र पुनर्स्थापना र संघीयता खारेजीको माग राख्नु अवैधानिक होइन भन्ने कुरा आफ्नो पार्टीले स्थापित गराएको बताए।
निर्वाचन आयोगसँग प्रतिवाद गरेपछि पार्टीको विधानमा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना मागलाई स्थापित गराउन सफलता हात पारेको उनको भनाइ थियो। राप्रपालाई नेपाली राजनीतिमा उपेक्षा गर्न नमिल्ने शक्तिको रुपमा स्थापित गराउने काम भएको उनले बताए।
‘गएका निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसके पनि उकालो यात्रा प्रारम्भ गर्यो। राप्रपालाई नेपाली राजनीतिमा उपेक्षा गर्न नसकिने र अग्रगतितर्फ गइराखेको शक्तिको रुपमा स्थापित गर्न सफल भयौं,’ उनले भने।
अध्यक्ष लिङ्देनले विगतमा निर्वाचनमा अपेक्षाअनुसार परिणाम हात नपारे पनि आफ्नो पार्टीले अग्रमगनको बाटो तय गर्दै अघि बढेको बताए।
(न्युज एजेन्सी नेपाल)