गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा प्रमुखको उम्मेदवार बनेका रामप्रसाद बस्याल पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रमको संयोजक बनेका छन्। आगामी पुस दोश्रो साता पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा आउँदै छन्।
सोही कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दनका लागि मूल समिति संयोजकको जिम्मेवारी बस्यालले लिएका हुन्।
बस्याल एमालेको लुम्बिनी प्रदेश कमिटीका पूर्वसल्लाहकार हुन् भने अघिल्लो स्थानीय तह निर्वाचनमा सिद्धार्थनगरको मेयरमा एमालेका उम्मेदवार थिए। उनी कांग्रेसका इस्तियाक अहमद खानसँग पराजित भएका थिए।
भैरहवाका पुराना वामपन्थी नेता समेत रहेका बस्याललाई एमालेले नगरप्रमुखको उम्मेदवार बनाएपछि त्यहाँका अन्य एमाले नेताहरु असन्तुष्ट बनेका थिए।
सोही विषयलाई लिएर सिद्धार्थनगरका तत्कालीन नगर सचिव नारायणप्रसाद भण्डारीले पार्टी नै छाडेका थिए।
बस्यालले आफू अझै एमालेमै रहेपनि धर्म निरपेक्ष र प्रदेश संरचनाको विषयमा एमालेसँग अहसमति रहेको बताए।
नेकपा एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले भण्डारी पूर्वराजाको अभिनन्दन समितिको संयोजक बनेको विषयमा पार्टीभित्र छलफल गरेर निणर्य गरिने बताए।