प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वविद्यालयहरूमा हुने राजनीतिक नियुक्तिहरूमा राजनीतिक भागबण्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारीहरू नियुक्त गर्ने घोषणा गरेका छन्।
सोमबार दिउँसो त्रिपुरेश्वरमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो यस्तो बताएका हुन्।
‘आजको यो दीक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दीक्षान्त समारोहको तमाम श्रृङ्खलामा एउटा रेकर्ड हुन गयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म आज यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबण्डाको अन्त्य गर्ने मेरिटको आधार भिसी लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईंहरूको अगाडि व्यक्त गर्दछु।’
उनले यसका लागि खुला प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभरि रहेका विज्ञ नेपालीहरूलाई आह्वान पनि गरेका छन्।
‘राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबण्डा होइन मेरिटको आधारमा नियुक्ति हुनका लागि अग्रसर हुन अपील गर्दछु,’ समारोहमा प्रधानमन्त्री प्रचण्डले भने।
गत कात्तिकदेखि त्रिवि उपकुलपतिविहीन छ। अहिले शिवलाल भुसाल त्रिविको कार्यवाहक उपकुलपति छन्।