कोशीका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार गरेको मन्त्रिपरिषद विस्तारप्रति सत्ता गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीले असन्तुष्टि व्यक्त गरेको छ।
प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तारका क्रममा मुख्यमन्त्रीले सहमति उल्लंघन गरेको बताएका छन्।
‘मन्त्रिपरिषद विस्तारका क्रममा मुख्यमन्त्रीले गठबन्धनभित्र भएको सहमति उल्लंघन गर्नुभएको छ,’ पूर्वमुख्यमन्त्री राईले भने, ‘यो गलत छ।’
सोही कारण आफू सपथ समारोहमा अनुपस्थित रहेको राईको भनाइ छ।
मुख्यमन्त्री कार्कीले गठबन्धन दलका नेताहरूलाई सुविधा दिने र जिससहरूको अधिकार खोस्नेगरी ल्याएको अध्यादेशको पनि पूर्वमुख्यमन्त्री राईले विरोध गरेका छन्।
‘त्यो अध्यादेश पनि बिनासल्लाह ल्याएर मुख्यमन्त्रीले गठबन्धनको मर्मविपरीत काम गर्नुभयो,’ राईले थपे, ‘यो गल्ती तुरून्तै सच्याउन आग्रह गर्दछौं। गल्ती नसच्याए विकल्प खोज्न तयार रहेको जानकारी दिन्छौं। एउटा मन्त्रीका लागि सरकारमा टाँसिरहन कुनै जरूरी छैन।’
मुख्यमन्त्रीले आज प्रदेश मन्त्रिपरिषद सदस्य विस्तार गरेर संख्या १० पुर्याएका छन्। मन्त्रिपरिषदमा कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादीबाट तीन मन्त्री र एकीकृत समाजवादीबाट एक जना मन्त्री भएका छन्। गठबन्धनकै जसपा अहिलेसम्म मन्त्रिमण्डलमा सहभागी छैन।
यो पनि: