नेपाली कांग्रेसका प्रचार विभागसमेत रहेका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले यसपालिको महासमिति बैठकमा अल्पमतलाई कदर गरिएको बताएका छन्।
केन्द्रीय कार्यालय सानेपामा शुक्रबार भएको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जवाफ दिएका प्रचार विभाग प्रमुख विश्वकर्माले कतिपय विषय परिमार्जन भई निर्णयका रूपमा आउने बताए।
फागुन ७ देखि १० गतेसम्म ललितपुरमा कांग्रेसले महासमिति बैठक गरेको थियो।
महासमितिबाट उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव सर्वसम्मतिले पारित भए पनि परिमार्जनसहित अनुमोदन केन्द्रीय समितिबाट गरिने निष्कर्ष निकालिएको थियो।
महासमितिले किन निर्णय लिन सकेन भन्ने प्रश्नमा प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘महासमितिमा एजेन्डा प्रस्तुत गर्ने साथीहरूको मुद्दा फ्याट्टै निर्णय भन्ने लागेको होला। परिमार्जन हुँदा धेरै कुरा निर्णयका रूपमा आउँछन्।’
उनले जसको निर्णयका रूपमा आउँदैन, ती मुद्दाहरू कुनै दिन बहुमतमा हुने पनि बताए।
‘हामीले यसपालि अल्पमतलाई कदर गरेको हो। प्रक्रियामा नआएकोले हिन्दु राष्ट्रसम्बन्धी प्रस्ताव नै बनेन, प्रक्रियामा आएको भए भोटिङ हुन सक्थ्यो। महामन्त्रीले राखेको प्रस्ताव निर्णय गराउन उहाँले कोसिस गर्नुभएको होला, तर त्यहाँ माहौल नै बनेन,’ उनले भने।
यो पनि:
कांग्रेस महासमितिमा चलेको दाउपेच: महामन्त्रीद्वयका प्रस्तावविरूद्ध बोल्न गोप्य एसएमएस 'सर्कुलर'
हिन्दु राष्ट्रका लागि एक हजार बढी महासमिति सदस्यले गरे हस्ताक्षर
कांग्रेस महासमितिमा पेश भएका ४ प्रस्ताव सर्वसम्मत पारित