प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संसद् सचिवालयलय जानकारी दिएको छ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आइतबार पनि बालकुमारी, टेरामक्स र रामग्राम क्षेत्रको जग्गा लिजमा दिने प्रकरणमा सार्वजनिक प्रश्न उठेका मन्त्रीहरूको राजीनामा माग्दै विरोध गर्ने भएको छ।
एमालेले टेरामक्स प्रकरणमा मुछिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बालकुमारी घटनामा दोषी देखिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ।
त्यस्तै रामग्राम क्षेत्रको जग्गा लिजमा दिने प्रकरणमा जोडिएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा पनि माग गरेको छ।