नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्ने दायित्व कांग्रेसको भएको बताएका छन्।
संसदीय दलले कांग्रेसबाट राष्ट्रिय सभामा निर्वाचित भएका सदस्यसँग आइतबार गरेको कार्यक्रममा राष्ट्रिय सभा सदस्यसमेत रहेका सिटौलाले राष्ट्रहितको बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताए।
‘अरु पार्टीको भन्दा कांग्रेसको अलि बढी दायित्व छ। शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी दायित्व पनि कांग्रेसको काँधमा छ,’ उनले भने, ‘अन्य पार्टीहरूलाई राष्ट्रहितको पथप्रदर्शन गर्ने, बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा छ। त्यसैले हामीले सबैलाई मिलाएर सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु पनि छ।’
कांग्रेसले सबैसँग सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्न भूमिका खेल्नुपर्ने उनको भनाइ छ। उनले राष्ट्रिय सभा सदस्यहरूले अन्य पार्टीहरुसँग पनि सहकार्य गरेर जनताको स्वार्थ अनुकुल काम गर्नुपर्ने बताए।
उनले राज्यका सम्पूर्ण संयन्त्रलाई संविधानबमोजिम जनताको हितमा प्रयोग गर्नुपर्ने बताए। आफूहरुले आगामी दिनमा जनताप्रति समर्पित भावले काम गर्ने उनको भनाइ थियो।