न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिका निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ।
आज बसेको परिषद बैठकले उनीहरूलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको परिषदका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए।
उनका अनुसार दुवैलाई संविधान र न्याय परिषद ऐन अनुसार बर्खास्त गर्न सिफारिस गरिएको हो।
संविधानको धारा १४२ उपधारा १ (ग) अनुसार उच्च अदालतका न्यायाधीश र १४९ को उपधारा ६ (ग) मा जिल्ला न्यायाधीशको कार्यक्षमता अभाव खराब आचरण लगायतमा कारबाही भए पदमुक्त गर्न सकिने व्यवस्था छ।
‘निजमा कार्यक्षमताको अभाव, खराब आचरण, इमानदारी पूर्वक आफ्नो कर्तव्यको पालन नगरेको, बदनियतपूर्वक काम-कारबाही गरेको वा निजले पालन गर्नु पर्ने आचारसंहिताको गम्भीर उल्लंघन गरेको आधारमा न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले पदमुक्त गरेमा,’ पदमुक्त हुने व्यवस्था छ।
न्याय परिषद ऐनमा भने पहिला सचेत गराइएका न्यायाधीशहरूले फेरि कार्यक्षमता नसुधारे वा आचरण विपरित काम गरेमा बर्खास्त गर्न सक्ने व्यवस्था छ।
उक्त ऐनको दफा १४ उपदफा २ मा भनिएको छ- सचेत गराउँदा पनि सुधार नभएमा खराब आचरण वा आचारसंहिताको गम्भीर उल्लंघन गरेमा त्यस्तो न्यायाधीश उपर न्याय परिषदले संविधानको धारा १४२ को उपधारा (१) को खण्ड (ग) वा धारा १४९ को उपधारा (६) को खण्ड (ग) बमोजिम कारबाही गर्नु पर्नेछ।
आज बसेको बैठकले काठमाडौं जिल्ला राजकुमार कोइरालालाई अनुगमन निगरानीमा रहने गरी सचेत गराइएको छ। उनलाई महोत्तरी सरूवा गरिएको न्याय परिषदले जनाएको छ।