नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले लुम्बिनीमार्फत नेपालको विकास सम्भव रहेको बताएका छन्।
गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकहरूलाई आकर्षित गर्न सके लुम्बिनीको मात्र नभई सिंगो नेपालकै आर्थिक विकास हुनसक्ने उनले बताए।
भारतीय राजदूतावासको सहयोगमा रूपन्देहीको तिलोत्तमा ५ मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा निर्मित विज्ञान भवन हस्तान्तरण गर्दै राजदूत श्रीवास्तवले लुम्बिनीमा पछिल्लो समय भारतीय धार्मिक पर्यटकहरूको संख्या बढ्दै गएको बताए।
लुम्बिनी आउने पर्यटकहरूलाई नेपालका अन्य धार्मिक स्थलहरूको अवलोकनको लागि लैजान सके पर्यटनमार्फत नेपालको आर्थिक विकास हुने उनले बताए।
‘अहिले लुम्बिनीमा अन्य मुलुकसँगै भारतीय पर्यटकहरूको संख्या पनि बढ्दै गएको छ, यहाँ आउने पर्यटकहरूलाई नेपालका अन्य धार्मिक स्थलहरूमा लैजान सके त्यसैमार्फत नेपालको विकास गर्न सम्भव छ,’ उनले भने।
उनले सरकार परिवर्तन भइरहेपनि नेपाल र भारतको सम्बन्ध र सहयोग आदानप्रदान युगौंयुग सम्म रहिरहने बताए।
नेपाल भारतका लागि छिमेकी राष्ट्र मात्र नभएर असल मित्र रहेको र धार्मिक एवं सामाजिक सम्बन्ध समेत रहेको उल्लेख गरे।
त्यस्तै भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधारको विकासमा सहकार्य गर्दै आएको पनि उनले बताए। यस्ता विकासका लागि भारत सँधै तयार रहेको उनको भनाइ थियो।
उनका अनुसार सन् २००३ देखि भारत सरकारले नेपालमा ५५० वटा विद्यालय भवन निर्माण गरिसकेको छ।
लुम्बिनी प्रदेशमा मात्र ६१ र रूपन्देहीका १२ वटा विद्यालय भवन निर्माणका लागि अनुदान उपलब्ध गराएको पनि उनले बताए।
‘भारत सरकार नेपालको विकासमा कसरी सहभागी भएर सहयोग गर्न सकिन्छ भन्नेमा सधैँ रहन्छ, नेपालका विभिन्न इकाइहरू स्थानीय तह र जिल्ला समन्वय समितिसँगको समन्वयमा ५५० वटा विद्यालय भवन निर्माण भइसकेका छन्। ९५० वटा एम्बुलेन्स र २५० वटा स्कुल बस उपलब्ध गराइसकेको छ,’ उनले भने।