उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र अमेरिकाका इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एड्माइरल जोन सी एक्विलिनोबीच शिष्टाचार भेट भएको छ।
आइतबार बिहान सिंहदरबारस्थित रक्षा मन्त्रालयमा दुई जनाबीच शिष्टाचार भेट भएको हो।
भेटको क्रममा रक्षामन्त्री खड्काले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि नै सौहार्दपूर्ण रहेको बताए। नेपालको विकास निर्माण लगायत क्षेत्रमा अमेरिकी सहयोगका लागि उनले धन्यवाद व्यक्त गरेका थिए।
त्यस्तै आगामी दिनमा सहयोगको स्तर वृद्धि हुनेबारे पनि खड्काले विश्वास व्यक्त गरेका थिए।
विश्व शान्तिको लागि नेपालले संयुक्त राष्ट्र संघीय मिसनहरूमा शान्ति सैनिक खटाउने लगायत महत्त्वपूर्ण योगदान गर्दै आएको र भविष्यमा समेत अन्तर्राष्ट्रिय शान्ति स्थापनाको लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
कमाण्डर एक्विलिनोले पनि नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्य निरन्तर रूपमा रहने र भविष्यमा थप मजबुत हुने विश्वास व्यक्त गरेका थिए।
उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको स्तरोन्नति एवं ग्लोबल पिस ओपरेशन इनिसिएटिभ लगायतका कार्यक्रमहरूमा निरन्तर समन्वय र सहकार्यमा अमेरिकी सरकार सकारात्मक रहेको बताए।
अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै महिला शान्ति सैनिक खटाउने विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष उदाहरण प्रस्तुत गरेको विचार समेत व्यक्त गरेका थिए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेटघाट गरेका थिए।