राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर आरोप लागेका मन्त्रीहरूले रोष्टममा उभिएर जवाफ दिन केले रोकेको भन्दै प्रश्न गरेका छन्।
सोमबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले सभामुख देवराज घिमिरेबाटै रूलिङ भइसकेको अवस्थामा पनि मन्त्रीहरूलाई जवाफ दिन केले रोकेको भन्दै प्रश्न गरेका हुन्।
रास्वपा, नेकपा एमाले, राप्रपा लगायत दलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि बालकुमारी जाँचबुझ आयोगले लगाएको आरोपबारे जवाफ दिनुपर्ने माग राख्दै आएका छन्। यसबारे सरकारले उनलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत बयान दिन पुगेको भन्दै विपक्षी दलले त्यसबारे पनि जवाफ माग गरिरहेको हो।
‘सभामुखबाट रूलिङ समेत भइसकेको विषयमा सरकारका केही मन्त्रीहरूले आफूमाथि लागेका गम्भीर आरोपका विषयमा सदनमा आएर उभिएर जवाफ दिन निमित्त रोकेको छ केले?,’ उनले प्रश्न गरेका छन्, ‘किन यो निरन्तर मागिरहनुपर्यो? यदी कुनै अप्ठ्यारो छैन, यदी आफूमाथि उठेका कुराको यथ्यष्ट आधारहरू छन् भने ती आरोप या विषयहरू निराधार हुन् भने सार्वभौम संसदमा उभिएर त्यसबारे भन्नका लागि केले रोक्यो सरकारलाई?’
यसरी सरकारले आफूहरूले खोजेका जवाफबारे उत्तर नदिँदा संसदलाई लडाइँको क्षेत्र जस्तो बनाइएको पनि उनले बताए।
त्यसैबीच उनले मिटरब्याज पीडितहरूले २३ दिन हिँडेर काठमाडौं आउनुपर्ने वातावरण सरकारले नै सिर्जना गरेको आरोप लगाए।