उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितहरूलाई न्याय दिने काम भइरहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितहरूलाई न्याय दिने काम भइरहेको बताएका हुन्।
‘अहिले साढे पाँच हजार जति मिटरब्याजी पीडितहरूलाई न्याय दिने काम भइरहेको छ। तर के बुझ्नुपर्छ भने यो सामन्तवादको शोषणको अत्यन्त निकृष्ट अभिव्यक्ति हो र यो हामीले ठूलो मेहेनत गरेर मात्रै यसलाई समाधान गर्न सकिन्छ,’ उनले भने।
उनले तत्कालिन आयोगमा आएका उजुरीहरूलाई मन्त्रिपरिषदले निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपिल गर्ने बताए।
प्रहरीले पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्ने उनको भनाइ छ। त्यसो हुन नसकेमा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जाने उनले बताए।
‘जिल्ला प्रहरी कार्यालयले अब स्वेच्छिक मेलमिलापको निम्ति अपिल गर्छ। पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्छ। त्यो भएन भने थप अनुसन्धान गर्नुपर्ने भए अनुसन्धान गरेर फेरि अभियोजनको प्रक्रियामा लैजान्छ। यो प्रक्रियामा हामी छौं,’ उनले भने, ‘त्यसकारण पीडितलाई न्याय त हामी हर, हालतमा दिन्छौं। म सबैलाई अपील गर्न चाहन्छु पीडितलाई न्याय दिलाउने दिशातिर लागौं। हर हालतमा पीडितलाई मुक्त गर्ने दिशातिर रहौं। पीडितको नाममा खेल खेल्ने काम नगरौं।’
अहिले १२ सय मिटरब्याज पीडितहरू काठमाडौं आइपुगेका छन्। सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै जाँचबुझ आयोग समेत बनाएको थियो। तर न्याय नपाएको भन्दै पीडितहरू पुन: काठमाडौं आइपुगेका हुन्।