प्रहरीको गोली लागेर मृत्यु भएका सर्लाहीका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ सहयोग दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सर्लाहीको बरहथवा नगरपालिका ६ का साहको परिवारलाई आर्थिक सहायता स्वरूप १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
गत पुसमा बरहथवामा प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा साहको मृत्यु भएको थियो।
घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेको समिति पनि गठन गरेको थियो।