राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ को उपनिर्वाचन लक्षित गरेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाउने निर्णय गरेको छ।
सोमबार साँझ बसेको पार्टी सचिवालयको बैठकले इलाममा सहमहामन्त्रीलाई खटाउने निर्णय गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
एमाले सांसद सुवास नेम्वाङको निधनपश्चात् खाली भएको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगले निर्णय गरेको छ।
‘सचिवालयको सोमबारको बैठकले पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई उपनिर्वाचन लक्षित गरेर इलाम पठाउने भएको छ। इलामको बसाइमा बुर्लाकोटीले स्थानीयसँग भेटघाट, उपनिर्वाचनको प्रारम्भिक तयारी र जनगुनासो सुन्ने कार्यक्रम रहेको छ,’ प्रवक्ता ढकालले भने।
बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ०७९ मंसिर ४ गते भएको संघीय निर्वाचनमा गोरखा २ बाट उम्मेदवार थिए।
त्यस्तै, गत वैशाख १० गते भएको तनहुँ १ उपनिर्वाचनमा पार्टीका तर्फबाट कमाण्डर तोकिएका थिए। त्यहाँबाट पार्टी उपसभापति स्वर्णिम वाग्लेले चुनाव जितेका थिए।