नेकपा (माओवादी केन्द्र) ले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गर्ने भएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले संसदीय फाँट र पार्टीको काममा अलग-अलग जिम्मेवारी तोक्नेगरी इन्चार्ज हेरफेर गर्न लागेको हो।
यसअघि भदौमा चार महिने विशेष रूपान्तरण अभियान सञ्चालन गर्न इन्चार्ज हेरफेर गरेको थियो।
ती इन्चार्ज परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोक्न लागेको हो। यद्यपि बुधबार बस्ने बैठकले यसबारे निर्णय गर्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।
उनका अनुसार कोशी प्रदेशमा हरिबोल गजुरेल, मधेसमा लिलामणि पोखरेल, बागमती प्रदेशमा अग्निप्रसाद सापकोटा, लुम्बिनीमा चक्रपाणी खनाललाई इन्चार्ज बनाउने प्रस्ताव आएको छ।
यस्तै कर्णाली प्रदेशमा कालीबहादुर मल्ल, सुदूरपश्चिमा गिरिराजमणि पोखरेल, सम्पर्क प्रदेशमा देव गुरूङ र विशेषमा हितमान शाक्यलाई इन्चार्ज बनाउने प्रस्ताव आएको उनले बताए।
यसै गरी प्रवासअन्तर्गत् मध्यपूर्वमा पम्फा भुसाल र युरोप–अमेरिकामा राम कार्की इन्चार्ज बनाइने भएका छन्। भारतमा मातृका यादवलाई इन्चार्ज बनाउने प्रस्ताव आए पनि उनले अस्वीकार गरेका छन्।