काठमाडौं महानगर कार्यपालिकाको निर्णय हेरफेरबारे गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ।
वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यपालिकाको निर्णयविपरीत वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले आफ्नै छोरी सुप्रिया ढुंगेललाई पठाउन नाम थपेपछि उनीमाथि छानबिन गर्न समिति बनाइएको थियो।
उक्त समितिले ५६ दिन लगाएर छानबिन गरेर बनाएको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई बुझाएको छ। माघ २६ गते बुझाएको प्रतिवेदन सोमबार (हिजो) प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले प्रमाणीकरण गरेका छन्।
उक्त घटनामा मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संलग्नता भएको महानगरको आरोप थियो। छानबिन प्रतिवेदन नआएसम्मका लागि तीनै जनालाई महानगरले निलम्बन गरेको थियो।
समितिले अहिले दुई जनालाई बर्खास्त गर्न सिफारिस गरेको स्रोतले बतायो।
'छानबिन प्रतिवेदनले वरिष्ठ शाखा अधिकृत बिडारी र स्वास्थ्य विभाग प्रमुख पौडेललाई बर्खास्त गर्न सुझाव दिएको छ,' स्रोतले भन्यो, 'सचिवालय प्रमुख न्यौपानेलाई भने कार्यपालिकामा स्पष्टीकरण दिन बोलाउन सुझाएको छ।'
यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई ध्यानाकर्षण गराउन सुझाएको छ। उनको मधेसी योजना आयोगमा सरूवा भइसकेको छ।
फागुनमा बसेको २८ औं नगर कार्यपालिका बैठकले यस्ता विषय सुशासन समितिले हेर्ने निर्णय गरेको थियो। त्यसैले यो विषय पनि उक्त समितिमै पठाउने तयारी महानगरले गरिरहेको छ।
सुशासन समितिका संयोजक एवं वडा नम्बर १७ का वडाध्यक्ष ख्यामराज तिवारीले उक्त प्रतिवेदन अहिलेसम्म नआइपुगेको बताए।
'प्रतिवेदन बुझाइसकेको भन्ने सुनिएको छ,' उनले भने, 'हाम्रोमा आइसकेपछि के भएको रहेछ, थप अध्ययन गर्नेछौं।'
उक्त घटनामा सहरी योजना आयोगका उपाध्यक्ष सुमन नरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिमा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल थिए।
यो पनि: काठमाडौं महानगरका प्रशासकीय अधिकृत भन्छन्- कार्यकक्षमा महत्वपूर्ण सामान भएर ताला लगाइएको हो