उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
उनले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका जनताका मौलिक हक कार्यान्वयनतर्फ सरकार लागिरहेको बताए।
‘संविधानमा उल्लेख भएका जनताका मौलिक हक कार्यान्वयनका लागि राजनीतिक दलहरूको एकताबद्ध प्रयास आवश्यक छ,’ आज सुर्खेतको गुर्भाकोटमा सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल) भवनको उद्घाटन गर्दै उनले भने।
उपप्रधानमन्त्री खड्काले विकासको आकांक्षा र आवश्यकता समयअनुसार बढ्दै जाने उनको भनाइ थियो।
उनले पूर्वाधार निर्माण गर्दा दूरदृष्टि आवश्यक रहेको उल्लेख गरे।
आजका लागि नभई भावी पुस्ताका लागि पनि आधार र जग बन्ने गरी पूर्वाधार निर्माण जरूरी रहेको उनको भनाइ थियो।
‘कुनै पनि विकास निर्माण काम गर्दा आजका लागि होइन, पछिल्लो पुस्ताका लागि पुग्ने गरी काम गर्नुपर्छ,’ उपप्रधानमन्त्री खड्काले भने।
उनले लोभबाट मुक्त हुनेहरू डरबाट मुक्त हुने बताए।