उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन समयमै नबन्दा विरोधीहरूले आलोचना गर्ने मौका पाएको बताएका छन्।
संविधान जारी भएको आठ वर्षसम्म पनि आवश्यक कानुन नबन्दा संघीयतामाथि प्रश्न गर्नेहरुले मौका पाइरहेको उनको भनाइ छ।
अब छिट्टै आवश्यक कानुन बनाइने पनि उनले दाबी गरेका छन्।
संघीयता कार्यान्वयनमा लैजान सरकार क्रियाशील रहेको उनको भनाइ छ।
‘संविधान जारी भएसँगै बन्नुपर्ने आवश्यक कानुन निर्माण नहुँदा प्रदेश र स्थानीय तहले आवश्यक अधिकार प्रयोग गर्न पाएका छैनन्। यही कारण संघीयता, गणतन्त्र र लोकतन्त्रमाथि प्रश्न गर्नेहरुले मौका पाइरहेका छन्’, सुर्खेतमा भएको एक कार्यक्रममा मन्त्री खड्काले भने।
उनले विगतमा दुई तिहाइ मत प्राप्त सरकारले संघीयता कार्यान्वयनमा चुकेको भन्दै अहिलेको सरकारलाई त्यो छुट नभएको बताए।
‘जनतालाई सेवा दिने र देशलाई समृद्ध बनाउने विषयमा राजनीतिक दलबीच मतभेद छैन्, सबैको लक्ष्य एउटै हो’, उनले भने।
उनले प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको पनि बताए। साथै निजामति सेवा ऐन संशोधनको प्रक्रियामा रहेको उनको भनाइ छ।
संघीयतासँग जोडिएका अधिकांश कानुन संसदमा दर्ता गर्ने सरकारको तयारी रहेको उनको भनाइ छ।