नेकपा (माओवादी केन्द्र) ले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गरेको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले संसदीय फाँट र पार्टीको काममा अलग-अलग जिम्मेवारी तोक्ने गरी इन्चार्ज हेरफेर गरेको हो।
यसअघि भदौमा चार महिने विशेष रूपान्तरण अभियान सञ्चालन गर्न इन्चार्ज हेरफेर गरेको थियो।
नयाँ जिम्मेवारीअनुसार, कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल र सहइन्चार्ज सावित्रीकुमार काफ्ले, मधेसको इन्चार्जमा सचिव लिलामणि पोखरेल र सहइन्चार्जमा विश्वनाथ साह नियुक्त भएका छन्।
बागमती प्रदेशको इन्चार्जमा उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई तोकिएको छ। बागमतीको सहइन्चार्ज खाली राखिएको उपाध्यक्ष सापकोटाले बताए। स्थायी कमिटीले बागमतीको सहइन्चार्ज नारायण दाहाललाई बनाउने निर्णय गरेकोमा उपमहासचिव जनार्दन शर्माले फरक मत राखेपछि निर्णय सार्वजनिक नगरिएको हो।
गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा र सहइन्चार्ज हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्ज कुलप्रसाद केसीलाई तोकिएको छ।
यस्तै, कर्णाली प्रदेशमा कालीबहादुर मल्ललाई इन्चार्ज बनाइएको छ भने सहइन्चार्ज बाँकी छ। यस्तै, सुदूरपश्चिमको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज र केन्द्रीय सदस्य बिना मगर सहइन्चार्ज तोकिएका छन्।
विशेष प्रदेशमा हितमान शाक्यलाई इन्चार्ज र सहइन्चार्ज यशोधा सुवेदीलाई बनाउने निर्णय भएको छ। यसैगरी प्रवासअन्तर्गत मध्यपूर्वमा पम्फा भुसाल र युरोप–अमेरिकामा राम कार्कीले इन्चार्ज बनाइने भएको छ। भारतमा लक्ष्मण पन्त इन्चार्ज बनाउने निर्णय भएको छ।