राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचन लक्षित गरेर ६ सांसदलाई ६ पालिकामा पठाउने भएको छ।
रास्वपाका सांसदहरू शुक्रबार साँझ इलामका पालिका पुग्ने र १९ गते त्यहाँका नागरिकहरूसँग अन्तरक्रिया गर्ने कार्यसूची रहेको पार्टीले जनाएको छ।
जसअन्तर्गत् सोबिता गौतमलाई इलाम नगरपालिका खटाइएको रास्वपाले बताएको छ।
गणेश पराजुली देउमाई नगरपालिका जानेछन् भने मनिष झाले माई नगरपालिकामा अन्तरक्रिया गर्नेछन्।
सांसद अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिका जाने रास्वपाले जानकारी दिएको छ।
रास्वपाको सचिवालय बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाम क्षेत्र नम्बर दुईमा खटाउने निर्णय यसअघि नै गरिसकेको छ।
नेकपा (एमाले) का सांसद सुवास नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएपछि इलाम क्षेत्र नम्बर दुई रिक्त छ। रिक्त स्थानका लागि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।
चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका पनि सार्वजनिक गरिसकेको छ।
उपनिर्वाचनको मिति घोषणा भएसँगै राजनीतिक दलहरूले आ—आफ्नो तयारी तीव्र पारेका छन्।