प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गरेका छन्।
शुक्रबार बिहान चितवन पुगेर प्रधामन्त्री प्रचण्डले भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गरेका हुन्।
उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले नयाँ भवनको अवलोकन समेत गरेका थिए।
उद्घाटन समारोहमा बोल्दै उनले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’ को रूपमा विकास हुँदै गएको बताए।
‘भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
नेपालका साथै छिमेकी मित्रराष्ट्र भारतबाट समेत यस अस्पतालमा सेवा लिने सेवाग्राहीहरूको उल्लेख्य संख्या रहनुले पनि अस्पतालको महत्व र सेवा प्रवाहको गुणस्तर प्रमाणित हुने प्रधानमन्त्री प्रचण्डले बताए।
उनले विभिन्न दातृ निकाय, संघसंस्था, भरतपुर महानगरपालिका लगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको बताए।
‘नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरंग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्षमा बिस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने जानकारी पाउँदा म उत्साहित भएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।
आफू नेतृत्वको वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको पनि प्रधानमन्त्री प्रचण्डले बताए।
सबै तस्बिरः प्रधानमन्त्रीको सचिवालय







