नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई दाङ जिल्ला अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको छ।
सवारी दुर्घटनासम्बन्धी मुद्दामा जिल्ला अदालतले नेता बाँस्तोलालाई एक बर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले सेतोपाटीलाई बताए।
आइतबार न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले नेता बाँस्तोलालाई असावधानीपूर्वक गाडी चलाउँदा दुर्घटनामा एक जनाको मृत्यु भएको भन्दै दोषी ठहर गरेको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कात्तिक २ गते राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ मा नेता बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यो दुर्घटनाका घाइते राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो।
उक्त सवारी मुद्दामा जिल्ला अदालतले नेता बाँस्तोलाले असावधानीपूर्वक सवारी चलाएको भन्दै एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको स्रेस्तेदार घिमिरेले सेतोपाटीलाई बताए।
तिहारको समयमा काठमाडौंबाट गृहजिल्ला सुर्खेतको पञ्चपुरी नगरपालिका– ९ तर्फ जाँदा नेता बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकल चालकलाई ठक्कर दिएपछि मृत्यु भएको थियो। दुर्घटनापछि नेता बाँस्तोला झन्डै दुई हप्ता जति प्रहरी हिरासतमा बसेका थिए।
जिल्ला अदालतको यो फैसलाविरूद्ध नेता बाँस्तोलाले उच्च अदालतमा अपिल गर्न पाउने सुविधा छ। फैसलाको एक सय दिनसम्म त्यस्तो सुविधा उनले पाउने छन्।