उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना हुन सघाउने व्यक्ति वा एजेन्सीलाई कारबाहीको दायरामा ल्याउन सरकार क्रियाशील रहेको बताएका छन्।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा खड्काले नेपाली नागरिकहरू द्वन्द्वग्रस्त मुलुकमा रोजगारीमा जाने, सेनामा भर्ना हुने कार्यलाई सरकारले निरुत्साहित गर्ने पनि बताए।
उपप्रधानमन्त्री खड्काले स्वदेश तथा विदेशमा रोजगारीको छनौट गरी जाने अधिकार नेपालको संविधानले प्रत्येक नागरिकलाई दिए पनि उनीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको बताए।
प्रत्येक नागरिकको सुरक्षा राज्यको कर्तव्य भएकाले सुरक्षाको दृष्टिले जोखिम रहेका पेशा वा व्यवसाय गर्न वा त्यस्ता क्षेत्रमा जाने कुरालाई निरुत्साहित गर्न सरकार सचेत रहेको उनको भनाइ छ।
‘प्रत्येक नागरिकको सुरक्षा राज्यको कर्तव्य भएकाले सुरक्षाको दृष्टिले जोखिम रहेका पेशा वा व्यवसाय गर्न वा त्यस्ता क्षेत्रमा जाने कुरालाई निरुत्साहित गर्न जरुरी छ। त्यसतर्फ सरकार सचेत छ। त्यसैले नेपाली नागरिकहरु द्वन्द्वग्रस्त मुलुकमा रोजगारीमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई निरुत्साहित गर्ने तथा यस कार्यमा सघाउने व्यक्ति, एजेन्सीलाई कानूनी कारबाहीको दायरामा ल्याउने कुरामा सरकार क्रियाशील रहेको कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने।
उपप्रधानमन्त्री खड्काले हेटौँडा कपडा उद्योग नेपाली सेनाले सञ्चालन गर्ने बारेमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताए।
(न्युज एजेन्सी नेपाल)