सत्तारूढ नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको गठबन्धनले नै निरन्तरता पाउने बताएका छन्।
गठबन्धन केही हुन्छ कि भन्ने शंका नगर्न पनि उनले आग्रह गरेका छन्।
अहिलेको गठबन्धन पूर्ण अवधिसम्म चल्ने पनि उनको भनाइ थियो।
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै खड्काले वर्तमान गठबन्धनमा कहीँकतै केही होला कि भनेर शङ्का नगर्न आग्रह गरेका हुन्।
निर्वाचनका बेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको भन्दै उनले जनादेशअनुसार वर्तमान गठबन्धन चल्ने र त्यसमा कुनै समस्या नआउने बताए।
‘गत निर्वाचनलगत्तै गठबन्धनमा केही समस्या आए पनि अहिले गठबन्धनमा कुनै समस्या छैन,’ उनले भने।
वर्तमान गठबन्धन सत्ता र कुर्सीका लागि नबनेको भन्दै खड्काले संविधानको रक्षा र मुलुकको समृद्धिका लागि भएकाले जनादेशअनुसार काम गर्दै जाने उनले बताए।