कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारमा संलग्न जो कोहीले पनि उन्मुक्ति पाउन नसक्ने बताएका छन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले कसुरजन्य सम्पत्ति कमाएको हकमा अथवा अपराध गरेर सम्पत्ति कमाएको छ भने प्रधानमन्त्री, मन्त्रीलाई पनि सरकार नछोडने बताए।
अपराध गरेर कमाएको हो भन्न नसक्ने सम्पत्तिको भने कडा ढंगले अनुसन्धान गरेर दोषीमाथि कारबाही हुने गरी सरकारले सो विधेयक ल्याएको उनले बताए। मन्त्री गुरुङले स्रोत नखुलेको सम्पत्ति थाँती राख्न नमिल्ने भएकाले सरकारले त्यसलाई पनि अनुसन्धान गर्न कडा कानुनी व्यवस्था गर्न लागेको बताए।
‘यहाँ भ्रष्टाचार निवारण आयोगले कसैलाई पनि छोड्दैन। यो राष्ट्र सेवकहरुको सन्दर्भमा यो धारा आएको होइन। यसले कसैलाई पनि उन्मुक्ति दिँदैन। कसुरजन्य सम्पत्ति कमाएको हकमा, अपराध गरेर कमाएको हकमा अथवा भ्रष्टाचार गरेर कमाएको हकमा कुनै पनि चाहेँ त्यो वडाध्यक्ष होस्, सांसद किन नहोस्। अथवा मन्त्री किन नहोस्। प्रधानमन्त्री नै किन नहोस्। कसैलाई पनि उन्मुक्ति दिँदैन। यसले उन्मुक्ति दिने भनेको होइन। सम्पत्ति कसुरजन्य हो भन्न पनि नसक्ने, अपराध गरेको कमाएको हो पनि भन्न नसक्ने अवस्था रह्यो। र मुद्दा पनि नलागेको अवस्था रह्यो। मुख्य कुरा यो यो। यसको सम्बन्धमा कसैको पनि थाँती राख्न मिल्दैन,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)