शुक्रबार बसेको लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक ५ मिनेट बसेर सकिएको छ।
गत भदौ २६ गते दोस्रो अधिवेशन समाप्त भएपछि ६ महिना प्रदेश सभाको बैठक बस्न सकेको थिएन।
लामो समयपछि बसेको तेस्रो अधिवेशनको पहिलो बैठक पनि ५ मिनेटमै सकिएको हो। दिउँसो ३ बजे बसेको बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र र मन्त्री परिषद्मा कार्यविभाजन हेरफेर सम्बन्धीको पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सुनाएका थिए।
सभामुख घर्तीमगरले दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकबारे सभामा जानकारी गराएका थिए।
यसअघिका दुइटा अधिवेशनमा ३५ वटा बैठक बस्दा एक वटा मूल विधेयक, साल बसाली विधेयक दुई वटा, संशोधन विधेयक एक गरी जम्मा चार वटा विधेयक पारित भएका थिए। सरकारले तेस्रो अधिवेशनमा स्थानीय तहको निजामती कर्मचारी विधेयकलगायत ४ वटा विधेयक दर्ताको तयारी गरेको जनाएको छ।
यस्तै, तेस्रो अधिवेशनको दोस्रो अधिवेशन शनिवार बस्दैछ। शनिबार दिउँसो २ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सम्बोधन गर्ने तयारी छ।
लुम्बिनी प्रदेश सरकारको अगुवाइमा यही फागुन २८ र २९ गते हुन गइरहेको लुम्बिनी शिखर सम्मेलनको विषयमा सार्वजनिक भएका विभिन्न विषयहरूमा मुख्यमन्त्रीसँग जवाफ माग्ने तयारीमा दलका सांसदहरू रहे पनि शनिबारको प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गरी शुक्रबारको बैठक छोटो गरिएको थियो।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार शुक्रबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय दलको तर्फबाट बोल्ने कार्यक्रमपछि राख्ने सहमति भएपछि पहिलो बैठक छोटो गरिएको हो।