प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वका ५२ करोडभन्दा बढी बौद्धमार्गीहरूको आस्थालाई बुझेर अगाडि बढ्नुपर्ने बताएका छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभा बैठकमा आज कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ ले शैक्षिक क्षेत्र विश्वव्यापीकरणको प्रभावमा परिरहेको समयमा बौद्धमार्गीहरूको आस्थालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
‘हाम्रो मौलिक दर्शन, संस्कृति, परम्परा, स्रोत साधनको अध्ययन गर्नेतर्फ आधुनिक बजार उत्साहित छैन। त्यसमा बौद्ध दर्शन जस्तो गहन दर्शन पनि प्रभावित छ,’ प्रधानमन्त्री प्रचण्डले भने, विश्वमा ५२ करोड जनसंख्याको आस्थाको विषय बनेको बौद्ध दर्शन त्यसभित्र अन्तर्निहित सामाजिक र दार्शनिक कुराहरू अहिलेको समाजलाई नभई नहुने कुराहरू हुन्। यसलाई विश्वव्यापीकरण गर्नु हामी सबैको साझा दायित्व हो।’
इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्ययताको लागि अनुपम स्रोतको रूपमा रहेको बताउँदै प्रधानमन्त्रीले सांस्कृतिक, धार्मिक, पर्यटन विकासको लागि यो ठूलो अवसर भएको उल्लेख गरे।
उनले यिनै विषयलाई मनन् गरी विश्वविद्यालयले बौद्ध परम्परा र संस्कृति अध्ययन अध्यापन संरक्षण तथा सवर्द्धनका कार्यक्रम अगाडि बताउनुपर्नेमा जोड दिए।