नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तर विरोधले टुट्ने दाबी गरेका छन्।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गठबन्धनभित्रका तमासाहरू देखिरहेको बताउँदै अन्तरविरोधले आफैं फुट्ने दाबी गरे।
‘पछिल्लो दिनमा यो गठबन्धन आफैँ भित्रका अन्तरविरोध र समस्याहरुको भुमरिमा फसेको छ । यो कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन होइन । यो स्वार्थ, लेनदेनमा आधारित छ, लामो समयसम्म चल्न सक्दैन । देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि यस प्रकारका गठबन्धन टुट्नुपर्छ,’ उनले भने।
उनले मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ गइरहेको बताए।
उनले शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको बताए।
समाजको अग्रगतिका लागि पनि गठबन्धन नै प्रमुख बाधक रहेको उनले बताए।
उपाध्यक्ष पौडेलले देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि अहिलेको गठबन्धन टुट्नुपर्ने बताए। - न्युज एजेन्सी नेपालबाट