राष्ट्रिय सभामा निर्वाचित १९ सांसदले आज शपथ लिने भएका छन्।
गत माघ ११ गते सम्पन्न चुनावबाट निर्वाचित भएका १९ सांसदहरूलाई आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराइने राष्ट्रिय सभाका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
उनीहरूलाई राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गराउने प्रवक्ता गिरीले बताए।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदको पदावधि आइतबार राति १२ बजे सकिएको थियो।
पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र एक/एक जना छन्।
एमालेबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासहित इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई राष्ट्रिय सभाबाट बिदा भएका छन्।
यस्तै कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको ६ वर्षे कार्यकाल सकिएको हो।
माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा बिदाइ भएका छन्।
जसपाकी प्रमिला देवी, राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि सकिएको छ।
यी रिक्त स्थानका लागि माघ ११ गते सातै प्रदेशमा निर्वाचन भएको थियो।कोशी प्रदेशको एक सिटबाहेक अरूतिर गठबन्धनका उम्मेदवार विजयी भएका थिए।
कोशी प्रदेशबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भएका छन्।
मधेसबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन्।
बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विजयी भए।
गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ विजयी भएका छन्।
लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।
कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् भने सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्दले चुनाव जितेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटा भने पूर्ति भइसकेको छैन।