राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित हुने ब्रिफिङ गरेका छन्।
बिहान उनकै निवास हात्तीगौंडामा बसेको सचिवालय बैठकमा दिनभर नयाँ सत्ता समीकरणबारे छलफल हुने भएकाले संसद बैठक स्थगित हुन लागेको बताए।
सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा उठेका विषयमा जवाफ दिन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी रूलिङ गरेका थिए।
बदलिँदो परिस्थितिमा सरकारलाई कसले समर्थन गर्ने र कसले विरोध गर्ने अलमल हुने भएकाले पनि संसदको बैठक स्थगित हुन लागेको लामिछानेले सचिवालयलाई जानकारी गराएका थिए।
बैठकले यसअघि रास्वपा सरकारमा सहभागी हुँदा सरकारको न्यूनतम साझा कार्यक्रमको प्राथमिकतामा आफूहरूले राखेको एजेण्डालाई नै प्राथमिकतामा राखेर गठबन्धबारे छलफल र निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई दिएको छ।
को कसरी सरकारमा जाने भन्दा पनि एजेण्डामा रहेर छलफल गर्ने र त्यसको जिम्मा सभापतिले लिने निर्णय भएको सहप्रवक्ता मनिष झाले जानकारी दिए।