नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन्।
कांग्रेस सहितको सत्ता गठबन्धन भत्किएसँगै नयाँ बन्ने मन्त्रिपरिषदमा वर्षमान पुनलाई पठाउने निर्णय भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
‘अहिले वर्षमान पुनलाई मन्त्रिपरिषदमा पठाउने र अरूको बारेमा पछि छलफल हुनेछ,’ पौडेलले भने।
उनको मन्त्रालय भने टुंगिनसकेको पौडेलले जानकारी दिए।
कांग्रेसहितको सत्ता गठबन्धनबाट अलग भएर एमालेसँग नयाँ गठबन्धन बनाउने निर्णय भएसँगै प्रधानमन्त्री प्रचण्डले सरकारबाट सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने पनि निर्णय भएको माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
नयाँ बन्ने मन्त्रिपरिषदमा रास्वपा र जसपाबाट एक/एक जना मन्त्री जाने तय भएपनि को जाने भन्ने बारेमा टुंगो लागिसकेको छैन।
यद्यपि बालुवाटार स्रोतले दिएको जानकारी अनुसार जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैं सरकारमा जाने तयारी गरेका छन्।
एकीकृत समाजवादीले भने नयाँ बनेको गठबन्धनबारे तत्काल निर्णय नभएको बताएको छ।
प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको समर्थन थियो।
गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।
‘गएराति पार्टीहरूका अध्यक्षहरूबीचको छलफलमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अगाडि बढाउने र सत्ता गठबन्धन पनि परिवर्तन गर्नेबारेमा छलफल भएको थियो।
बिहान सबै दलले आ-आफ्नो पार्टीको आन्तरिक छलफलमा गएरातिको सहमतिबारे ब्रिफिङ गरेका थिए।
प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ।
गएराति दलहरूबीच नेकपा एकीकृत समाजवादी बारे पनि कुराकानी भएको थियो।
‘उक्त छलफलमा माधवकुमार नेपालले चाहेमा यो गठबन्धनमा रहन सक्ने र समाजवादीका लागि पनि मन्त्री छुट्याउन सकिने समझदारी बनेको थियो,’ स्रोतले भन्यो, ‘यदि उहाँले निहुँ खोज्नुभयो भयो समाजवादी पनि गठबन्धनमा रहन मुस्किल छ।’
जनता समाजवादी पार्टीभने सरकारमै रहने निश्चित जस्तै छ। प्रतिनिधि सभामा जसपाका १२ सांसद छन्।