नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसका कारण सरकारलाई कामकाजमा कुनै अप्ठेरो नपरेको बताएका छन्।
उनले कांग्रेसका कारण गठबन्धन नभत्केको पनि बताए।
बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अर्थमन्त्रीसमेत रहेका महतले आफूहरूका कारण गठबन्धन र सरकारलाई अप्ठेरो नपरेको दाबी गरेका थिए।
‘बाहिर आएका कुरा बहाना मात्रै हुन्। प्रधानमन्त्रीजीको मनभित्र के थियो, के कारण वा कुराबाट, कहाँबाट प्रभावित भएर गठबन्धन टुट्यो उहाँलाई नै सोध्नुपर्छ,’ उनले भने।
उनले कांग्रेसले अनावश्यक चलखेल नगर्ने पनि बताए।
‘कांग्रेस धेरै चलखेल र अनावश्यक चलखेल गर्ने पार्टी होइन। गठबन्धनमा हुँदा प्रधानमन्त्रीजीलाई पनि गम्भीरतापूर्वक साथ दिएको हो, प्रधानमन्त्रीको निरन्तरतामा र सरकारका कामकारबाहीमा पनि सहयोग गरेको हो,’ उनले भने।
प्रधानमन्त्री दाहालले नयाँ गठबन्धन बनाएको पनि उनले बताए।
‘उहाँले अर्कै गठबन्धन बनाउने उहाँकै कुरा हो। हाम्रो कारणबाट यो गठबन्धन बिग्रेको र काम गर्न अप्ठेरो भएको भास्यसँग हामी असहमत छौं,’ उनले भने, ‘मन्त्री फेर्ने र राष्ट्रिय सभा अध्यक्षलगायत यी सब बहाना मात्रै हुन्।’
उनले कांग्रेसले अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।
नयाँ गठबन्धनबाट नेकपा (एमाले) का पदम गिरी, नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डिपी) बिनाविभागीय मन्त्री नियुक्त भई शपथसमेत लिइसकेका छन्।
यससँगै पुराना मन्त्रीहरू स्वत: बिदा भएका छन्।