लुम्बिनी प्रदेश सरकारले यही फागुन २८ र २९ गते गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गर्ने भनिएको ‘लौरियट्स एण्ड लिडर्स’ शिखर सम्मेलन अन्यौलमा परेको छ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै विभिन्न देशका ११ जना नोबेल पुरस्कार विजेतालाई निम्त्याएर गर्ने भनिएको शिखर सम्मेलन अन्यौलमा परेको हो।
सेतोपाटीसँग कुरा गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तय भइसकेको सम्मेलन गर्ने कि नगर्ने भन्नेबारे मंगलबारमात्रै निश्चयका साथ भन्न सकिने बताए।
‘भोलिको मन्त्रिपरिषद बैठकमा म त्यसबारे स्पष्ट कुरा राख्ने छु,’ उनले भने, ‘मन्त्रिपरिषदले जे निर्णय गर्ने छ सोही अनुरूप हुनेछ।’
केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै लुम्बिनी सरकारको नेतृत्व पनि फेरबदल हुने र त्यस्तो अवस्थामा काम गर्ने मानसिकता कर्मचारीको समेत नहुने हुँदा गर्ने निधो भइसकेको शिखर सम्मेलन के हुने भन्ने अन्यौलता सृजना भएको स्रोतले बतायो।
मुख्यमन्त्री चौधरी समेत आफू नेतृत्वको सरकार परिवर्तन हुने निश्चित भइसकेपछि कार्यक्रम गर्न अनइच्छुक देखिएको अर्को स्रोतले बताउँछ ।
‘ आफ्नो सरकार नभए भोलि कार्यक्रम पछि अख्तियार जाने लगाएत अनेक दुःख दिने खेल हुन सक्छन् भन्ने चिन्ता हुन सक्छ,’ स्रोतले भन्यो ‘ त्यसैले बदलिदो राजनीतिक समिकरण पछि उहाँले शिखर सम्मेलन गर्न त्यति इच्छाएको जस्तो आज बुझिएन ।’
आइतबार मात्रै मुख्यमन्त्री चौधरीले शिखर सम्मेलनमा ११ जना नोबेल पुरस्कार बिजेता आउने निश्चित भएको बताएका थिए । नेपाली काँग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री चौधरीका अनुसार शिखर सम्मेलनको मुख्य उदेश्य लुम्बिनी ‘ब्राण्डिङ’ गर्नु रहेको पनि बताएका थिए ।
शिखर सम्मेलनमा आउने पाहुना मध्य केहीलाई बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ देखाउनका लागि लैजाने , केहीलाई स्वर्गद्धारी प्रभुको मन्दिर दर्शन गराउन लैजाने र केहीलाई प्रेमको प्रतिक पाल्पाको ‘रानी महल’ लगाएतको भ्रमण हेलिकोप्टर मार्फत गराउयने योजना सुनाएका थिए ।
शान्तिभूमि लुम्बिनीलाई विश्वसामु परिचित गराउन बालबालिका, विकास र शान्तिको लागि ‘लौरियट्स एण्ड लिड्र्स’को चौथो शिखर सम्मेलन लुम्बिनीमा आयोजना हुनु राष्ट्रको लागि गौरवको कुरा भएको उनले बताएका थिए।
शिखर सम्मेलनको माध्यमबाट विदेशी दातृ निकायहरू लुम्बिनीमा लगानीका लागि आकर्षित हुने र यस क्षेत्रको समृद्धिमा पनि सम्मेलन फलदायी हुने दाबी मुख्यमन्त्री चौधरीको भनाइ थियो।
सम्मेलनका लागि प्रदेश सरकारले बजेटमै ६ करोड ५० लाख रुपैयाँ छुट्याएको भए पनि विभिन्न दातृ निकायबाट सहयोग जुटेको भन्दै सरकारको दुई करोड रुपैयाँभन्दा बढी खर्च नहुने मुख्यमन्त्री चौधरीको दाबी गरेका थिए।
फागुन २८ गते लुम्बिनी सम्मेलनकेन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सम्मेलनमा शान्ति र बालबालिकाका विषयमा दश वटा कार्यपत्र प्रस्तुत हुने मुख्यमन्त्री चौधरीले बताए।