नयाँ सत्ता गठबन्धनले एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीसँग पनि छलफल गर्ने भएको छ।
ती दललाई छलफलका लागि मंगलबार दिउँसो दुई बजे बालुवाटार बोलाइएको जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले बताए।
‘नयाँ गठबन्धनसँग सहकार्य गरेर जाने सन्दर्भमा कुराकानी गर्न लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादीलाई बोलाइएको छ,’ उनले भने।
नेपाली कांग्रेससँगको सहकार्य तोडेर सोमबार नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो। अहिलेको गठबन्धनमा नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, र जनता समाजवादी पार्टी छन्।
उनीहरूबीच सत्ता सहकार्यका लागि आठ बुँदे सहमतिसमेत भएको छ।
नयाँ सत्ता गठबन्धनबाट हितबहादुर तामाङ, पदम गिरी, डोलप्रसाल अर्याल (डिपी) ले मन्त्रीको शपथसमेत लिइसकेका छन्।
मन्त्रालयको टुंगो नलागेकोले जिम्मेवारी पछि तोकिने गरी उनीहरूले पथ तथा गोपनीयताको शपथ लिएका हुन्।
सोमबार साँझै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड) र माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।
बिरामी भएर स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री र उपाध्यक्ष श्रेष्ठ निवासमै पुगेका थिए।
भेटमा नयाँ गठबन्धनमा सहकार्य गर्न प्रस्ताव गरिएको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए।