नेकपा (एमाले) ले प्रमुख सचेतक र सचेतकमा युवा सांसदहरूलाई जिम्मेवारी दिएको छ।
प्रमुख सचेतकमा मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद महेश बर्तौला नियुक्त भएका छन्। सचेतकमा झापाकी सांसद सुनिता बराल नियुक्त भएकी छन्। बराल समानुपातिकतर्फबाट सांसद भएकी थिइन्।
दुवै जना पहिलो पटक प्रतिनिधि सभा सांसद बनेका हुन्। पहिलो पटकमै दुवै जना संसदीय दलको महत्त्वपूर्ण जिम्मेवारीमा पुगेका छन्।
यसअघि पनि एमालेले प्रमुख सचेतक र सचेतकमा युवालाई नै छानेको थियो।
पर्वतबाट दोस्रो पटक सांसद निर्वाचित भएका पदम गिरी यसअघि प्रमुख सचेतक बनाइएका थिए भने बर्तौला सचेतक थिए। गिरी सोमबार मन्त्री नियुक्त भएपछि बर्तौला प्रमुख सचेतकमा बढुवा भए।
प्रमुख सचेतक बर्तौलाले २०५३ सालदेखि नै राजनीतिक सुरू गरेका थिए।
२०५९ देखि २०६३ सम्म एमालेको भ्रातृ संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेका बर्तौला मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति पनि निर्वाचित भएका थिए। उनी २०६२ र २०६५ सालमा स्ववियु सभापति निर्वाचित भएका थिए।
२०६५ मै अनेरास्ववियुबाट उम्मेदवार भई जितेकाहरूको छाता संस्था स्ववियु काउन्सिलको संयोजकसमेत बनेका थिए। उनी एमालेको आठौं महाधिवेशनको प्रतिनिधि पनि हुन्। ‘त्यतिबेला कान्छो प्रतिनिधिको रूपमा बुटवल महाधिवेशनमा सहभागी भएको थिएँ,’ उनले भने।
४२ वर्षीय बर्तौला २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभाकामा मकवानपुर–२ बाट निर्वाचित भएका थिए। उनले एकीकृत समाजवादीबाट तत्कालीन गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडालाई ४ हजार ५१८ मतले पराजित गरेका थिए।
गएको निर्वाचनमा पनि एमालेले उनलाई युवा उम्मेदवारकै रूपमा अघि सारेको थियो। त्यतिबेला बुद्धरत्न मानन्धर, सुवास ठकुरी र बर्तौलाको नाम सिफारिस भएको थियो। उनले पूर्वसांसद ठकुरीलाई पाखा लगाएर टिकट प्राप्त गरेका थिए।
अनेरास्ववियुमा उनी केन्द्रीय उपाध्यक्षसम्म भएका थिए। त्यसपछि पार्टी राजनीतिमा सक्रिय भएका बर्तौला यसअघि बागमती प्रदेश कमिटीको उपसचिव थिए। गत निर्वाचनबाट उनी बिदा भएर संसदीय फाँटमा सक्रिय भएका हुन्।
सचेतक बनाइएकी बराल अनेरास्ववियुबाटै आएकी हुन्। उनी २०७८ असोज २ गते अनेरास्ववियु केन्द्रीय सचिवालयको विस्तारित बैठकबाट अध्यक्ष चुनिएकी थिइन्। उनी अनेरास्ववियुको तेस्रो महिला अध्यक्ष हुन्।
उनीअघि रामकुमारी झाक्री र नविना लामा अनेरास्ववियुको अध्यक्ष निर्वाचित भएका थिए।
उनी २०६४ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेकी थिइन्। उनी अहिले नेकपा (एमाले) को केन्द्रीय सदस्य छिन्।
२०७८ मंसिरमा भएको १० औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।
२०७९ सालको निर्वाचनमा उनी समानुपातिकतर्फबाट सांसद निर्वाचित भएकी हुन्।